पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघीयता कार्यान्वयनमा भएको ढिलाईप्रति अध्यक्ष प्रचण्डको चिन्ता

अर्जुन श्रेष्ठ, रेडियो नेपाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान र संघीयता कार्यन्वयनमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गर्नुभएको छ । 

जिल्ला समन्वय समिति रुकुम पश्चिमले प्रकाशन गरेको ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको आज काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले संविधानको मर्म अनुरुप अधिकार प्रत्यायोजनमा ढिलाई भइरहेको बताउनु भयो । 

संघियता कार्यान्वयनको सट्टा उहाँले प्रदेश र स्थानीय तहलाई संविधानबाटै अधिकार सम्पन्न बनाइएपनि कार्यन्वयनप्रति गम्भीर प्रश्न उठ्न थालेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संघीयता कार्यन्वयनको सट्टा संविधानको मर्म विपरितका पछिल्ला प्रक्रियाले मुलुकमा द्वन्द्व सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो । 

सांसद जनार्दन शर्माले केन्द्रिकृत मानसिकता तोडेर संविधानले दिएको अधिकार प्रत्योजन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी, सर्वाेच्च बार एशोसिएशन अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सांसद रामनारायण विडारी लगायतले पूर्व महान्यायधिवक्ता मुक्तिनारायण प्रधानले लेख्नुभएको पुस्तक न्यायिक समितिका लागि उपयोगी हुने धारणा राख्नुभएको थियो ।