पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पश्चिमी वायुले देशैभर बदली र वर्षा

radionepal

काठमाडौँ, २५ माघ २०७५ । पश्चिमी वायुको प्रभावले देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हिजो दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । विहिवार सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ । 

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा ७, धनगढीमा २ र ताप्लेजुङमा १ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम ४ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो । 

मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ । 

महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको जानकारी दिनुभयो । उहाँका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ । आइतबार पनि पहाडी भेगमा बदली र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।