पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिवेदन पेश गर्न कार्यदललाई नेकपा सचिवालयको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांगठानिक एकीकरणसम्बन्धी प्रतिवेदन पेश गर्न गठित कार्यदललाई भोलीसम्ममा आफ्नो प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकले यसअघि स्थायी समितिले बनाएको कार्यदललाई अहिलेसम्मको कार्यप्रगति विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । 

बैठकले पार्टीको राजनीतिक प्रतिवेदन चाँडै प्रकाशन गर्ने र स्थायी समितिको बैठकमा प्रस्तुत प्रतिवेदनलाई समेत अन्तिम रुप दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकले भेनेजुयलाको राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको र यस सम्बन्धमा पार्टीको विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धमा पार्टीको दृष्टिकोण स्पष्ट र स्थिर रहेको प्रष्ट पारेको छ । 

प्रवक्ता श्रेष्ठले पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । 

बैठकपछि प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको आन्दोलनका सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनैपनि दललाई आन्दोलन गर्ने अधिकार रहेपनि अहिले आन्दोलन गर्ने नभई मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले असहमतिका विषयमा छलफल गर्न सकिने र राष्ट्रिय मुद्दामा साझा सहमति जुटाउन सकिने स्पष्ट पार्नुभयो । 
अर्जुन श्रेष्ठ, रेडियो नेपाल