पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यान इन्फोटेक मेला भृकुटीमण्डपमा शुरु

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पुर्याउने उद्देश्यले क्यान महासङ्घको आयोजनामा मंगलवारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सूचना प्रविधि मेला क्यान इन्फोटेक शुरु भएको छ ।

आगामी छ दिनसम्म सञ्चालन हुने मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुका १७५ कक्षहरु रहेका छन्  । 

मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न पाउनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालिम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसपटक मेलामा सूचना प्रविधि क्षेत्रका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइनेछ । 

मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कार बापत इण्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक–एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् । 

मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क  १०० र विद्यार्थीका लागि ५० तोकिएको छ । 

मेलामा विशेष आकर्षणका रूपमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गराउने कार्यक्रम रहेको क्यान महासंघले जनाएको छ ।