पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता 

म्याग्दी, २९ पुस २०७५ । राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडी बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् । 

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भन्नुभयो । समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब–इञ्जिनीयर, असिस्टेण्ट सब–इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ । 

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो ।