पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतबाट २० अर्ब बराबरको औषधि आयात हुँदै

काठमाडौं । जडीबुटीको धनी मुलक नेपालमा भारतबाट मात्र २० अर्बको जडीबुटीबाट बनेको औषधि र औषधिजन्य वस्तु आयात हुने गरेको छ । 

नेपालबाट वार्षिक झण्डै दुई अर्ब बराबरको जडीबुटी निर्यात हुने गरेको छ ।

यसबाहेक चीन र भारतका सिमानाबाट अवैध रुपमा हुने चोरी निकासीको कुनै तथ्याङ्क छैन । 

यस क्षेत्रमा उत्पादन, सङ्कलन र प्रशोधनका लागि मुलुकभर २ हजार भन्दा बढी उद्योग दर्ता छन् तर यसमा क्रियाशील भने आधाजति मात्रै रहेको जडीबुटी उत्पादक सङ्घको अनुमान छ ।

मन्त्रालयले सन् २००४ मा जडीबुटी व्यवस्थापनका लागि उपयुक्त नीति बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको निजी क्षेत्रको गुनासो छ ।

जडीबुटी उत्पादन सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मन्त्रालयको वन उद्यम महाशाखाले पनि आवश्यक समन्वय गर्न नसकेको आरोप लगाउनुभयो । 

विद्यमान कानून र नयाँ बन्ने कानूनमा पनि भएका केही व्यवस्था र अस्पष्टताले जडीबुटीको व्यावसायिकता र निर्यातमा कठिनाइ भोग्नुपरेको निजी क्षेत्रको गुनासो छ । 

सङ्घका अध्यक्ष घिमिरेले जडीबुटीको व्यावसायिकता र विस्तारका लागि झण्झटिलो कानूनी प्रक्रिया र कर्मचारीको मानसिकतामा सुधार ल्याउनुपर्ने सुझाव दिनुभयो ।

वनस्पती विभागका उपमहानिर्देशक ज्योति जोशी भट्टले विभागले मुुलुकभरका सम्पूर्ण वनस्पतिको अभिलेखीकरण गर्ने, संरक्षणका कार्य गर्ने र अनुसन्धान तथा परीक्षणको कार्य गरिरहेको जानकारी दिनुभयो । 

जडीबुटीको प्रशोधन गरेर नेपालमै पनि अन्तिम उत्पादन गर्न सकिने बताउँदै उहाँले हाल करीब ८० प्रतिशत कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मात्र निर्यात भइरहेको जानकारी दिनुभयो ।