पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कारोबार मापक १०.०५ बिन्दुले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा यो साता कारोबार मापक नेप्से परिसूचक १०.०५ बिन्दुले वृद्धि भएको छ । 

साताको पहिलो दिन १ हजार १७० दशमलव ७९ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर १ हजार १८० दशमलव ८४ बिन्दुमा पुगेको छ । 

धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । 

सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । 

यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । 

स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् । 

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।