पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्छः काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । 

काङ्ग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ । 

आइतबार जुन प्रक्रियादेखि बैठक अन्त्य गरिएको हो त्यहीँबाट प्रतिनिधिसभाको आगामी बैठक आरम्भ हुनुपर्ने बैठकले माग गरेको काङ्ग्रेस सचेतक पुष्पा भुसालले बताउनुभयो । 

साथै संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने र सांसदलाई विषयगत जिम्मेवारी तोक्ने विषयमा समेत छलफल भएको थियो । 

बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमी कमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्दैछ ।