पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाणिज्य बैंकले सस्तो ब्याजमा ऋण उपलब्ध गराउने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ । 

बैंकले ३ लाखदेखि ५ करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने भएको छ । महिला उद्यमीहरुले त २.३३ प्रतिशतमै ऋण पाउने भएका छन् ।

बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका साथै भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्ने कर्जा दिने तयारी गरेको हो  । 

ब्याज अनुदानमा उपलब्ध हुने ऋणको अन्तिम भूक्तानी अवधि पाँच वर्ष तोकिएको छ । सरकारले त्यस्तो ऋणमा ब्याज अनुदान दिन्छ । 

महिला उद्यमीमा ६ प्रतिशत ब्याज अनुदान पाइन्छ भने बाँकीमा ५ प्रतिशत अनुदान उपलब्ध हुन्छ । बैंकहरुले आफ्नो आधार दरको २ प्रतिशत बिन्दु माथिसम्म मात्र यस्तो ऋणको ब्याज दर तोक्न पाउँछन । 

राष्ट्रिय वाणिज्य बैकले अहिले हाम्रो आधार दर ६.३३ प्रतिशत कायम गरेको छ । यसमा दुई प्रतिशत बिन्दु जोड्दा ८.३३ प्रतिशत ब्याज कायम हुन्छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने हुँदा यस्तो ऋणको ब्याज उपभोक्ताले २.३३ र ३.३३ प्रतिशत तिरे हुन्छ ।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ अनुसार, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँभन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समितिबाट स्वीकृति लिनुपर्छ । 

५ करोडभन्दा बढि ऋण लिनेले २ प्रतिशत मात्र ब्याज अनुदान पाउने छन् ।