पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मी सम्मानित

काठमाडौं । विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मीलाई काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमकाबिच सम्मानित गरिएको छ । 

नेपाल मार्शल आर्टस् हाप्किदो सङ्घद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ र २७ गते रुसमा सम्पन्न युरोपियन हाप्किदो च्याम्पियनसिपमा काँस्य पदक विजेता प्रदीप थापालाई सम्मान गर्नुभएको थियो । 

यही मङ्सिर ५ देखि ९ गतेसम्म चलेको १५ औँ एशिया प्यासिफिक सितोरियो कराँते महासंघको ‘रेफ्री सेमिनार’मा सहभागी भई अन्तराष्ट्रिय निर्णायक हुन सफल गजेन्द्रबहादुर खपाङ्गीलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो । 

त्यसै अवसरमा खेलकूद क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्य नारायणप्रसाद पौडेल, हाप्कीदोका प्रमुख प्रशिक्षक लानम लामा र टोली व्यवस्थापक दीपेन्द्र तामाङलाई पनि अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो । 

सम्मान कार्यक्रममा अध्यक्ष दाहालले खेलाडी राष्ट्रलाई संसारमा चिनाउने आधार भएकाले उनीहरुको उचित सम्मान र मूल्याङ्कन हुनु आवश्यक रहेको बताउनुभयो ।