पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अमेरिकामा तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड आयोजना हुँदै

radionepal

काठमाण्डाै ।  नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्धेश्यले यही २०७५ साल पुष ७ गते (२२ डिसेम्बर, २०१८) शनिवारका दिन अमेरिकाको नर्थ क्यारोलिना  राज्यको रानी सहर सार्लोटमा  तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ आयोजना हुने भएको छ । कार्यक्रमका संयोजक द्वय मनोज राई र शिब विष्टले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो ।

नेपाल भ्रमण वर्ष तथा नयाँ बर्ष सन् २०१९ लाई समेत लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा नेपाल लगयात विश्वका थुप्रै मुलुकबाट चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले सहभागीता जनाउनका लागि आवेदन दिएका छन् । आयोजक लभ एण्ड सपोर्ट फाउण्डेसन अमेरिकाका अध्यक्ष समेत रहनु भएका गायक/सङ्गीतकार मनोज राईका अनुसार समारोहमा सहभागी हुने र सम्मानित हुने व्यक्तिहरूको नामावली प्रकाशनका लागि छनौट समितिले अन्तिम तयारी गरिरहेको बताउनु भयो ।

"नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्नुका साथै नेपाली चलचित्रको अन्तरराष्ट्रिय स्तरमा बजार प्रवर्द्धनगर्ने, चलचित्र, सङ्गीत, संस्कृति, सञ्चार क्षेत्रमा समर्पित व्यक्तिहरूवीच पुनरमिलन गराउने उद्धेश्य पुरा हुने आशा राखेका छौं ।"  संयोजक विष्टले भन्नु भयो । वहाँका अनुसार विभिन्न ४ विधाका विभिन्न ५३ वटा अवार्डका लागि नेपाल, संयुक्तराज्य अमेरिका भुटान, हङकङ, भारत, बर्मा   र डायस्पोरामा रहेका सम्बन्धित विधाका व्यक्तिहरूले नोमिनेशनका दर्ता गराएका छन् ।

तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड वितरण समारोहमा नेपाली चलचित्र, कलाको विकासमा योगदान दिँदै आइरहेका नेपालीभाषी भुटानीहरू, भुटानी चलचित्रकर्मी एवं कलाकारहरूलाई सम्मानित गरिने छ । सो अवसरमा कलाकर्मी, मिडियाकर्मी र हलिउडका चलचित्रकर्मीहरूवीच नेपालमा चलचित्र पर्यटन प्रवर्द्धन गर्ने विषयमा अन्तरक्रिया समेत हुनेछ ।