पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र भारत बराबरीमा रोकिए

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मियानमारमा जारी ओलम्पिक छनोटमा बलियो प्रतिद्वन्दि भारतलाई बराबरीमा रोकेको छ ।

यान्गुनको थुउन्ना रङ्गशालामा बिहिबार भएको खेलमा नेपालले पहिले अग्रता लिएको थियो ।

नेपालकी क्याप्टेन निरु थापाले ११ औँ मिनेटमा पहिलो गोल गरेकी थिईन । तर यो अग्रता धेरै समय टिक्न सकेन । भारतले ३७ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।

नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबिच अहिले सम्म भएका ९ खेलमा यो दोस्रो बराबरी हो । बाँकी ७ खेलमा नेपाल पराजित भएको थियो ।

ओलम्पिक छनोटको यो समूह सी मा नेपाल सहित आयोजक मियानमार, भारत र बंगलादेश रहेका छन् ।

नेपालको दोस्रो खेल आउने आईतबार आयोजक मियानमार संग र तेस्रो खेल मंगलबार बंगलादेश संग हुनेछ ।

ताजिकिस्तानमा समूह ए को, थाईल्याण्डमा समूह बि को र प्यालेस्टाईनमा समूह डि को महिला ओलम्पिक छनोटका अन्य खेलहरु जारी रहेका छन् ।

समूह विजेता र समग्र समूहका उत्कृष्ट दुई उप विजेता दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

जापानमा सन् २०२० मा आयोजना हुने ओलम्पिमा सहभागी हुन छनोट चरणमा रहेका राष्ट्रहरुले यसपछि दोस्रो, तेस्रो र अन्तिम चरण पार गर्नु पर्ने हुन्छ ।

आयोजक जापानको महिला टोली भने ओलम्पिकको लागि स्वतः छनोट हुनेछ ।