पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड

पर्वत । तिहार शुरु हुँदासम्म पनि पर्वतको सदरमुकाम कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । 

कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटल समेत भरिभराउ भएका छन् । 

त्यति मात्र नभएर माटोको शहरका रूपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटक समेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् । 

त्यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको समेत घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् । 

पैदलयात्रीहरू बागलुङ, म्याग्दी होस् वा मुस्ताङ जहाँ भए पनि जाँदा वा आउँदा अग्ला पुलका कारण कुश्मामा झर्ने गरेको होटल व्यवसायी विषमकुमार श्रेष्ठ बताउनुहुन्छ । 

कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यू लगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । 

उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ । मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ ।

दैनिक बस, मोटरसाइकल र जीप गरी झण्डै ४ सयको हाराहारीमा मुस्ताङतर्फ जाने गरेको पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।