पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भोलि निर्वाचन चिन्ह प्रदान गरिने 

काठमाडौं, ५ असार । यही असार १४ गते बुधबार दोश्रो चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई भोलि निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

भोलि असार ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, ११ बजेदेखि साँढे ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि नै बिहान साँढे ११ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता गारएका उम्मेदवारमध्ये हालसम्म ६२ हजार ९ सय २६ को विवरण प्राप्त भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ ।

दोश्रो चरण अन्तर्गत निर्वाचन हुने १ नम्बर प्रदेशमा ८८ गाँउपालिका, ४३ नगरपालिका, २ उपमहानगरपालिका र १ महानगरपालिका गरी १ सय ३७ स्थानीय तह रहेका छन ।

यसैगरी ५ नम्बर प्रदेशमा ७३ गाँउपालिका, ३२ नगरपालिका, ४ उपमहानगरपालिका गरी १ सय ९ स्थानीय तह रहेका छन भने ७ नम्बर प्रदेशमा ५४ गाँउपालिका, ३३ नगरपालिका, १ उपमहानगरपालिका गरी ८८ स्थानीय तह रहेका छन ।