पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए एफ सी अण्डर २३ फुटबलको यात्रा प्रारम्भ

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने एशियाली फुटबल महासंघ ए एफ सी अण्डर २३ फुटबल प्रतियोगिता २०२० को यात्रा प्रारम्भ भएको छ ।

ए एफ सी ले विभिन्न राष्ट्रलाई मूख्य रुपमा दुई क्षेत्रमा विभाजन गरी बुधबार खेल तालिका सार्वजनिक गरे संगै थाईल्याण्ड जाने यात्राको शुरुआत भएको हो ।

मलेसियाको क्वालालम्पूर स्थित ए एफ सी को केन्द्रिय कार्यलयमा बुधबार खेल तालिका सार्वजनिक गरिएको थियो ।

ए एफ सी अण्डर २३ प्रतियोगितामा जम्मा ४४ राष्ट्रले सहभागिता जनाउने छन् ।

समान ४–४ राष्ट्रलाई ए देखि के सम्म गरी ११ वटा उप समूहमा विभाजन गरिएको छ ।

ए देखि एफ सम्मको समूह पश्चिमी क्षेत्र अन्तर्गत पर्दछन् । जी देखि के सम्मको समूह पूर्वी क्षेत्रमा पर्दछन् ।

पश्चिमी क्षेत्रमा पश्चिम, दक्षिण र केन्द्रका गरी २४ राष्ट्र रहेका छन् । पूर्वी क्षेत्रमा पूर्वी र आशिआनका २० राष्ट्र रहेका छन् ।

पश्चिमी क्षेत्र अन्तर्गत नेपाल रहेको समूह ए मा आयोजक कतार, ओमान र अफ्गानिस्तान रहेका छन् ।

कतारले अघिल्लो अण्डर २३ मा तेस्रो स्थान प्राप्त गरेको थियो । नेपाल भने त्यस बेला समूह चरण बाटै बाहिरिएको थियो ।

अफ्गानिस्तान पनि निकै बलियो स्थितिमा रहेकोले नेपालले अहिले देखि नै राम्रो तयारी गर्नु पर्ने आवश्यक्ता देखिन्छ ।

११ वटा समूहका विजेता र समग्र समूहबाट उत्कृष्ट भएका ४ शीर्ष उप विजेता रष्ट्रले थाईल्याण्ड प्रस्थान गर्न पाउने छन् ।

आयोजक थाईल्याण्ड भने ए एफ सी अण्डर २३ फुटबल प्रतियोगिता २०२० का लागि स्वतः छनोट हुनेछ ।

अण्डर २३ फुटबल प्रतियोगिताका सबै खेलाडी २३ वर्ष भन्दा मुनिका हुनुपर्ने भए पनि प्रतियोगिताको नियम अनुसार ३ देखि ४ जनासम्म २३ वर्ष भन्दा माथिका खेलाडी खेल्न दिने प्रचलन छ ।

युवा खेलाडीलाई प्रोत्साहान गर्न र उनीहरुको राष्ट्रिय टोलीमा प्रवेशको तयारीका लागि यो महत्वपूर्ण खुड्किला मानिन्छ ।

खेलमा राम्रो तालमेल मिलोस र खेल अझ रोचक होस भनेर २३ वर्ष भन्दा माथिका केही अनुभवी खेलाडीहरुलाई पनि टोलीमा समावेश गरिन्छ ।