पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यसअघि मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको छ । 

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै महासमिति बैठक पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ । 

फोरमसँग भएका बाँकी सहमति कार्यान्वयनका विषयमा अध्ययन गर्न बैठकले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।