पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिनेः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले मंगलबार काठमाडौमा आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तरक्रियमा मन्त्री विष्टले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने बताउनुभयो । 

मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण तथा रोजगार वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण भएको बताउँदै मन्त्री विष्टले प्रादेशिक विशेषता अनुसार उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

पूर्वमन्त्री हरिबोल गजुरेलले कृषकलाई समयमै बीउबिजन, उपकरण लगायत सामग्री उपलब्ध गराउन–गर्न सकेमा उत्पादन वृद्धि गर्न सङ्घीय नीति सहयोगी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

राष्ट्रियसभाका सांसद् बलराम बास्कोटाले कृषि प्रणालीलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले राष्ट्रिय बजेटको करीब दुई प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन गरिएकाले कृषकलाई विभिन्न शीर्षकमा तालीम तथा अनुदान उपलब्ध गराउन नसकिएको बताउनुभयो । 

नेपाल कृषि सहकारी महासङ्घका महाप्रबन्धक रुद्र भट्टराईले आफ्नो संस्थाअन्तर्गत विभिन्न ७१ जिल्लामा साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य संस्था गरी ९४२ सदस्य सङ्गठन विस्तार भइसकेको जानकारी दिनुभयो ।