पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पत्रकार खशोग्गीको हत्या बारे बुझ्न साउदी टोली इस्तानबुलमा

टर्की, २० कात्तिक २०७५ । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ । 

खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् । 
रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ । 
पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो । 
टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् । 
इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन । 
टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो । 
टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ । 
स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ । 
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाउनु भएको छ । 
त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् । 
दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो । 
राजपरिवारबाट टाढा भएपछि उहाँले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आउनु भएको थियो । 
मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उहाँले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गर्नुभएको थियो । त्यही आलोचक भएकैले उहाँको हत्या भएको कतिपयको आशंका छ ।