पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘वटकुही’ वाचन विशेष वञ्जरिया साहित्यिक कार्यक्रमको आयोजना

radionepal

कञ्चनपुर, १८ कात्तिक २०७५ । थारु समुदायमा हराउँदै गएका लोक कथा ‘वटकुही’ को जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा शनिवार ‘वटकुही’ वाचन विशेष वञ्जरिया साहित्यिक कार्यक्रमको आयोजना गरियो । 

कार्यक्रममा थारु समुदायमा हराउँदै गएका पुराना लोककथा भन्ने र सुन्ने कार्य गरिएको छ । लोककथाले दिने सन्देशले समाजलाई असल मार्गमा डो¥याउने भएकाले त्यसको संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक वीरबहादुर राजवंशीले बताउनुभयो । 

कार्यक्रममा कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गरी झण्डै ७० जना बढी लोक कथा वाचकको सहभागिता छ । “घरपरिवारका सबै जना जम्मा भई अँगेनामा आगो ताप्दै गर्दा, गोठाला लाग्दा, चौतारीमा सहभागी हुँदा विगतमा लोककथा भन्ने र सुन्ने गरिँदै आएको थियो”, राजवंशीले भन्नुभयो, “बढ्दो आधुनिक सञ्चारमाध्यमका कारण लोककथा हराउँदै जान थालेपछि त्यसको प्रचारप्रसार र संरक्षणमा टेवा पु¥याउनका लागि कार्यक्रमको आयोजना गरिएको छ, जसबाट नयाँ पिँढीका युवाले लोककथाका बारेमा सहजरुपमा जानकारी पाउने छन् ।” 

लोककथासँगै थारु भाषाका गजल, मुक्तक, कविता, पटकथा र संस्कृतिलाई गीत र नृत्यका माध्यमबाट एकैसाथ एकै ठाउँमा कार्यक्रमका माध्यमबाट देखाइएको छ । विवाह, परम्परागत सांस्कृतिक कार्यक्रम र रहनसहनलाई समेत बुढापाकाले कार्यक्रमका अवसरमा प्रस्तुत गरेका छन् । कार्यक्रममा सहभागीलाई पुरानो थारु गाउँका परम्परागत परिकारसमेत महिलाले पस्केका छन् । 

पाहुनालाई स्थानीय थारु अगुवाले गाउँका रहनसहनको अवस्थामा जानकारी दिनका लागि अवलोकन गरिएको थियो । थारु साहित्यिक पत्रिका हरचाली र समरिनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमका लागि स्थानीय बासिन्दाले सहयोग जुटाएका हुन् । 

प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिले समाजलाई जोड्ने कार्य गर्ने भएकाले यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागी बुढापाकाले लोककथा र पुराना लोपोन्मुख अवस्थामा पुगेका रसिला गीतका प्रस्तुत गरे भने युवायुवतीले समाजलाई असल मार्गमा डो¥याउने खालका र हास्यव्यङ्गले भरपुर रहेका मुक्त र गजल वाचन गरेर स्रोताको मन जितेका थिए ।