पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समृद्धिका लागि दिगो शान्ति आवश्यकः गृहमन्त्री थापा 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाललाई समृद्ध बनाउन दिगो शान्ति आवश्यक रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयको आयोजनामा आज काठमाडौंमा भएको लागू औषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरण र ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले नेपाललाई समृद्ध हुनबाट रोक्ने तत्व चिनेर तिनलाई निषेध गरेपछि मात्र नेपाल समृद्ध बन्ने र नेपालीहरु खुशी र सुखी हुने बताउनुभयो ।

७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारण हुने गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै गृहमन्त्री थापाले त्यसका लागि मदिरा नियन्त्रण गर्नुपर्ने निश्कर्षमा गृहमन्त्रालय पुगेको बताउनुभयो । 

गृहमन्त्री थापाले अभियानकै रुप दिएर सुरु गर्न लागिएको सरकारको यस प्रयासमा हरेक क्षेत्र र आम जनताको समेत सहभागिता आवश्यक भएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले मदिरा नियन्त्रण र हिंसा न्यूनीकरण गर्नका लागि युवाहरूलाई परिचालन गर्नुपर्ने तथा हिंसा न्यूनीकरण र समाजवादको यात्रालाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता पनि त्यस अवसरमा औंल्याउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन, फोहोरमैला व्यवस्थापनसँगै सुरक्षा चुनौती सामना गर्न सबैको प्रयास र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले लागू औषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरण र ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई देशव्यापी बनाउने अभियानमा गुह मन्त्रालय  लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सरोकारवाला विभिन्न निकायका सहभागीहरुले सरकारको राम्रा प्रयासमा सदैवं साथ रहने प्रतिबद्धता जनाउनुभयो ।