पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ । दशैँको बेला उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । 

उपत्यकाका थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन १ लाख ३० हजार, असोज २४ गते १ लाख ४४ हजार र असोज २५ गते १ लाख १० हजार यात्रु बाहिरिएका छन् । 

महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

उपत्यकाको कलङ्की, स्वयम्भु, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।