लोकसेवा आयोगद्वारा वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । लोकसेवा आयोगको आफ्नो ५९ औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको गत आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
त्यस अवसरमा आयोगका अध्यक्ष मैनालीले गत आर्थिक वर्ष कूल ५ हजार ९७० पदका लागि १ हजार २०४ र समावेशी प्रतियोगितातर्फ १ हजार ८ सय ७ वटा विज्ञापन खुलाइएको जानकारी दिनुभयो ।
त्यसमा कूल ५ लाख ६७ हजार ८ सय ५३ दरखास्त परेको र पछिल्लो १० वर्षमा दरखास्त दिनेको संख्या ६ गुणाले वृद्धि भएको उहाँले बताउनुभयो ।
प्रतिवेदनमा सबैभन्दा बढी दरखास्त खरीदार पदमा १ लाख ४६ हजार ४७६ परेको र सबैभन्दा बढी २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएको उल्लेख गरिएको छ ।
दरखास्त परेकामध्येबाट कूल ७ हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको, जसमा २ हजार ४६५ (३२ प्रतिशत) महिला रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।