पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिनीको मूल्य छानबिन गर्नुपर्ने उपसमितिको ठहर

काठमाडौं । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनीको मूल्य अस्वाभाविक देखिएको भन्दैे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन गर्नुपर्ने ठहर गरेको छ ।

सरकार र उद्योगीबीच भएको सहमती अनुसार चिनीको खुद्रा मूल्य प्रति किलो बढीमा ६३ रुपैयाँसम्म हुनुपर्नेमा त्यसको कार्यान्वयन नभएकोमा सहमतिको कार्यान्वयन हुनुपर्नेमा उपसमितिले सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा समितिका सभापतिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी उपसमितिले गैरकानुनी रुपमा उखु पैठारी गर्ने कार्यमा कडाई गरी नेपाली किसानहरुको उखु समयमै चिनी उद्योगमार्फत खरिद गर्ने व्यवस्था र अवैध ओसारपसार नियन्त्रण तथा निगरानी गर्न निर्देशन दिने र उखु किसानले सरकारबाट पाउने अनुदान तत्काल भुक्तानीको व्यवस्था मिलाउने सुझाव पनि दिएको छ ।

प्रतिवेदन ग्रहणपछि सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले उपसमितिले दिएका सुझावहरुमा थप छलफल गरी त्यसको कार्यान्वयनका लागि समिति अगाडी बढने बताउनुभयो ।

बैठकमा उपसमितिका संयोजक लेखराज भट्ट सांसदहरु हृदयेश त्रिपाठी, प्रेम आले, धर्मशीला चापागाई, पार्वती डीसी चौधरी, प्रदीप यादव लगायतले सरकार र उद्योगीबीच भएको सहमति अनुसार चिनीको खुद्रा मूल्य प्रति किलो बढीमा ६३ रुपैयाँसम्म हुने भनिएको सहमतिको कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो ।