पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डिजिटल प्रसारणका सम्बन्धमा  रेडियो नेपालद्वारा २ दिने कार्यशाला

radionepal

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकमा आमसञ्चारको विकास तथा बिस्तार गर्ने गरी सरकारले नीति तथा ऐन निर्माण गरिरहेको बताउनुभएको छ । डिजिटल प्रसारणका सम्बन्धमा टेलिभिजन तथा रेडियोका वरिष्ठ प्राविधिक अधिकृतहरुका लागि रेडियो नेपालले आज आयोजना गरेको २ दिने कार्यशालाको उद्घाटन गर्नुहुँदै सचिव गुरुङले सञ्चार सेवाको पहुँच सबै नेपालीसम्म पुर्‍याउन सञ्चार माध्यमहरुको आधुनिकिकरणको विकल्प नरहेकोले सरकार यसका लागि राष्ट्रिय  आमसञ्चार ऐन लगायतका आवश्यक  ऐनहरु ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो  ।
     कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालको सेवा प्रभावकारी र सबैको  पहुँचमा पुर्‍याउन नयाँ प्रविधि आवश्यक भएकाले यसतर्फ रेडियो नेपालको प्रयास सुरु भैसकेको बताउनुभयो । DRM System का १२ थान डिजिटिल ट्रान्समिटर हालै खरिद गरिएको जानकारी दिदै कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालको प्रसारणलाई आधुनिक प्रविधिसँग  जोडने दिशामा अघि बढने बताउनुभयो ।
सञ्चार तथा सूञ्चार प्रविधि मन्त्रालयका उपसचिव अनुप नेपाल, सामूदायिक रेडियो प्रसारक संघ एकोर्‍याबका अध्यक्ष सुवास खतिवडा र रेडियो नेपालका चिफ ईन्जिनियर कृष्णचन्द्र पौडेलले प्रसारणमा आधुनिक प्रविधिको प्रयोग बढाउन रेडियो नेपालले आयोजना गरेको गोष्ठि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।  गोष्ठिमा विज्ञहरु शरद साधु  र एलेक्जेण्डर जिंकले डीआरएम प्रसारण प्रविधिबारे प्रशिक्षण दिनुहुनेछ । कार्यशाला गोष्ठीका बारेमा तालिम प्रमुख जनार्दन विष्टले जानकारी दिनु भएको थियो । कार्यशाालामा रेडियो, टेलिभिजनमा कार्यरत ५० जनाको सहभागिता रहेको छ । 
-रोमा रायमाझी  / रेडियो नेपाल