पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मौलिक हकसम्बन्धी ७ विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी सात वटा विधेयकहरु पारित गरेको छ ।

बैठकले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५ र जनस्वास्थ्य विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रस्तुत गर्नुभएको उपभोक्ता संरक्षण विधेयक २०७५ लाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रस्तुत गर्नुभएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक २०७५ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गर्नुभएको आवासको अधिकार सम्बन्धी विधेयक २०७५ लाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

यस्तै, भुमि व्यवस्था, सहकारी तथा गरिबी निर्वारणमन्त्री पद्यमा अर्यालका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको भुमिसम्बन्धी सातौं संशोधन विधेयक २०७५ लाई बैठकले पारित गरेको छ । 

यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका जेष्ठ सदस्य मीना पाण्डेले मौलिक हकसम्बन्धी दुई वटा विधेयकहरु वैयक्तिक गोपनियता र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाँय पहिलो संशोधन विधेयक सम्बन्धी समितिका प्रतिवेदन सदन समक्ष पेश गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो २ बजे बस्ने छ ।