पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छानबिन अन्तिम चरणमाः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको विषयमा छानविन अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समयमा उठाउनुभएका विषयमा जवाफ दिनुहुदै गृहमन्त्री थापाले निर्मला पन्त घटनाको सम्बन्धमा उच्चस्तरीय छानवीन समितिले दिएको प्रतिवेदनका आधारमा बलात्कारपछि हत्या गर्ने अपराधीलाई छिट्टै कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले निर्मला पन्तको हत्याको घटना छानविनमा रहेका समयमा भएको विरोध प्रदर्शनका क्रममा हुन गएको दुखद घटनाप्रति सरकार गम्भीर रहेको र मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गरी १० लाख रुपैयाँ तथा पीडित निर्मला पन्तका परिवारलाई पनि १० लाख रुपैयाँ दिएको बताउनुभयो । 

गृहन्त्री थापाले देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भएका बलात्कार र हत्या जस्ता घटनामा सरकारले शुन्य सहनशीलता अपनाएको र घटना न्युनीकरणका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले पत्रकार राजु बस्नेतले जनप्रतिनिधहरुलाई दुख दिने नियतले समाचार लेखेका कारण निजलाई पक्राउ गरी हिरासतमा राखेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइएको सदनलाई जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले राष्ट्रियसभाको आजैको बैठकमा जवाफ दिनुहँुदै निर्मला पन्त घटनाको उच्च स्तरीय छनविन समितिबाट छानविन भइरहेको जानकारी गराउनुभयो ।

पूर्वराजदुत केशव झाको हत्या, सांसद निरुदेवी पालमाथि भएको हमला लगायतका विषयमा समेत अनुसन्धान जारी रहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । 

गृहमन्त्री थापाले देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट भएका जनधनको क्षतिबारे बैठकमा जानकारी गराउँदै सरकार उद्धार र राहत कार्यमा सक्रिय भएर लागिरहेको बताउनुभयो ।