पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मौलिक हक सम्बन्धी समितिको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेका सात वटा विधेयक सम्बन्धी, सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् ।

बैठकमा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका जेष्ठ सदस्य मुकुन्द प्रसाद न्यौपानेले उपभोक्ता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

विकास तथा प्रविधि समतिका जेष्ठ सदस्य जिपछिरिङ लामाले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेश गर्नु भयो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका जेष्ठ सदस्य सत्यनारायण शर्मा खनालले खाद्य अधिकार र भुमि सम्बन्धी सातौ संशोधन विधेयक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नु भयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पेश गर्नुभएको पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्मन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आजै बसेको दोस्रो बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले प्रस्ताव सदनमा पेश गर्नु भएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।