पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ साफ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गर्दै ईतिहास रच्ने नेपालको सपना यस पटक पनि पुरा हुन सकेन ।

बंगलादेशको बंगबन्धु रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल माल्दिभ्स्सँग शुन्यका विरुद्ध तीन गोल खाँदै पराजित हुन पुग्यो ।

यो पराजयसँगै नेपालले पहिलो पटक फाईनल प्रवेश गर्ने मौका गुमाएको छ भने माल्दिभ्स् यो समेत पाँचौ पटक फाईनलमा प्रवेश गरेको छ ।

सन् २००८ मा साफ फाईनल जितेको माल्दिभ्स्ले साफ फुटबल मै नेपाल विरुद्धको अपराजित यात्रा पनि जारी राखेको छ ।

साफ फुटबलमा नेपालले अहिलेसम्म माल्दिभ्स्लाई पराजित गर्न सकेको छैन् ।

मध्यान्तर अगाडि १ गोलले मात्रपछि परेको नेपालले गोल हान्ने ध्याउन्नमा मध्यान्तर पछि लगालग २ गोल खान पुग्यो ।

मध्यान्तर अघि केही समय पानी परेकाले खेलमा दुवै तर्पmको तालमेल मिल्न सकेको थिएन ।

त्यसको फाईदा उठाउँदै माल्दिभ्स्ले फ्रि किक मार्फत् खेलको ९ औँ मिनेटमै अग्रता लिएको थियो ।

त्यसपछि खेल मध्यान्तर अघि वर्षाका कारण केही समय रोकिएको थियो ।

वर्षा रोकिएपछि नेपाल निकै बलियो भएर फर्कियो र त्यही निरन्तरता मध्यान्तर पछि पनि कायम राखेको थियो ।

तर समय समयमा माल्दिभ्स्ले काउन्टर एट्याक गर्दै अग्रता बढाउन खोजि नै रहेको थियो ।

नेपालले निकै दबाब दिईरहेकै बेला रक्षा पंक्तिको गल्तीको फाईदा उठाउँदै ८४ र ८६ अ‍ैँ मिनेटमा दोस्रो र तेस्रो गोल गर्दै माल्दिभ्स फाईनलमा प्रवेश गर्यो ।

पाकिस्तानमा सन् १९९३ देखि शुरु भएको साफ फुटबलको यो १२ औँ संस्करण हो ।

जारी प्रतियोगिता समेत गरेर नेपालले ६ पटक सेमिफाईनलको यात्रा तय गरिसकेको छ । 

पाकिस्तानमा सन् २००५ मा आयोजित साफ फुटबल देखि तेस्रो र चौथो स्थान छुट्टाउने परम्परा हटाईएको थियो ।

त्यस भन्दा अगाडि नेपाल पाकिस्तानमा भएको पहिलो साफ फुटबलमा तेस्रो स्थान सम्म पुग्न सफल भएको थियो ।

अहिले सम्म भारतले सबै भन्दा बढी, ७ पटक साफ च्याम्पियनशिपको उपाधि उचालिसकेको छ ।

यसैगरी श्रीलङ्का, बंगलादेश, माल्दिभ्स र अफ्गानिस्तानले १–१ पटक उपाधिको स्वाद चाखिसकेका छन् ।

नेपालले सन् १९९७ र २०१३ मा गरेर दुई पटक साफ च्याम्पियनशिपको आयोजना गरेको थियो ।

अब सन् २०२० को साफ फुटबल पाकिस्तानमा आयोजना हुने तय भई सकेको छ ।