पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ सुजुकी कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । 

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा अपरान्ह पौने चार बजे हुने खेल जित्न सके नेपाल पहिलो पटक प्रतियोगिताको फाइनलमा पुग्नेछ । नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । 

समूहको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भए पनि नेपालले त्यसपछि लगातार २ खेलमा जित निकाल्दै अघिल्लो चरणमा स्थान बनायो । दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले अन्तिम खेलमा बंगलादेशमाथि २–० को जित निकालेको थियो । 

यता माल्दिभ्स भने समूह ’बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो । जारी प्रतियोगितामा समूह चरणमा २ खेल खेलेको उसले पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेल्यो । 

दोस्रो खेलमा भारतसँग २–० गोलले पराजित भएपछि माल्दिभ्स् र श्रीलंकाको अंक र गोलअन्तर बराबरी भएको थियो । त्यसपछि टसको सहारा लिँदै माल्दिभ्सले सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

भाग्यको साथ पाएर अन्तिम चारमा पुगेको माल्दिभ्स र नेपालबीच साफ च्याम्पियनसिपमा सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो । 

यसअघि भएका ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन । ६ मध्ये ४ खेलमा माल्दिभ्स विजयी भएको छ । पछिल्ला २ खेल बराबरीमा सकिएका छन् । 

साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध जितविहीन नेपालका लागि पहिलो जित निकाल्ने अवसर छ । नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १५ प्रतिस्पर्धा भएको छ । 

जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ । ७ खेलमा भने नेपाल पराजित भएको छ ।