पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्थिक हिनामिना भएको भन्दै गाउँपालिकाबिरुद्ध स्थानीयहरु आन्दोलित 

गजेन्द्र राई/रेडियो नेपाल
उदयपुर । उदयपुरको एक गाउँपालिकामा व्यापक आर्थिक हिनामिना भएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलन हुनेमा जिल्लाको लिमचुङबुङ गाउँपालिकाका स्थानीयहरु रहेका छन् । शनिवार नागरिक दबाब समूह गठन गरेका उनिहरुले आईतवार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी हिनामिनाविरुद्ध संघर्षमा उत्रिने घोषणासमेत गरेका छन् । संघर्षमा उत्रिनेमा स्थानीय राजनीतिक दल र स्थानीयबासी रहेका छन् । 
गाउँपालिका जनप्रतिनिधिहरु स्वैच्छाचारी ढंगले अघि बढेको, गत आर्थिक वर्ष ०७४÷७५ मा बिनियोजित रकम शीर्षक अनुसार खर्च नगरेको तथा जथाभावी रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै खोजविनका लागि नागरिक दबाब समूह गठन गरिएको उनिहरुको भनाई छ । उनिहरुले अनियमितता भएको संभावित शीर्षकको रकमको फहरिस्त समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 
पत्रकार सम्मेलनमा दबाब समूहले गत आवमा गाउँपालिकामा सञ्चालन गर्न बिनियोजित बिभिन्न १६ वटा शीर्षकको रकम हिनामिना भएको अनुमानित फेहरिस्त सार्वजनिक गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन, सडक, भवन तथा सहरी विकास शीर्षकमा छुट्याइएको रकममा व्यापक घोटाला भएको हुनसक्ने दबाब समूहका संयोजक टकमान राईले आँकलन गरे । उनका अनुसार वन तथा भूसंरक्षण, जलाधार, फोहोर मैला तथा ढल व्यवस्थापन, सूचना प्रविधि, अन्यत्र बर्गाीकृत नभएको पशु तथा भेटनरी र पशुसम्बन्धी कार्यक्रम, अनुसन्धान तथा विकास, प्रशासनिक खर्च, विपत व्यवस्थापन र बिबिध शीर्षकमा छुट्याएको रकममा पनि गोलमाल भएको हुनसक्ने दबाब समूहको अनुमान छ । 
पत्रकार सम्मेलनमा बितरित विज्ञप्तीमा उल्लेख भएका बिभिन्न ९ वटा असहमतिका बुँदामा आर्थिक ऐनविपतिर पेश्की दिइएको, काम सम्पन्न नभई फस्र्यौट गरिएको, आर्थिक अनियमितताका खवरहरु सार्वजनिक भईरहेको, सार्वजनिक खरिद ऐनको बर्खिलाप गरी बिल भर्पाई प्रयोग भएको तथा प्रशासनिक र बिबिध खर्च मनोमानी गरेको पाइएको आरोप लगाइएको छ । 
पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेताद्वय झनक विक र भलराज राईले गाँपालिका अध्यक्ष मेजर राई स्वैच्छाचारी भएर अघि बढेको, पार्टी कमाण्डभन्दा बाहिर गएर विकासका नाममा एकालकाँटे प्रबृत्तिका साथ अघि बढेको आरोप लगाए । उनीहरुले गाउँलेभन्दा बाहिरका व्यक्तिहरुलाई विज्ञका रुपमा बोलाएर स्थानीय आवश्यक्ताभन्दा अनावश्यक योजना निर्माण गर्दै नाजायज खर्च गर्न उद्वेलित भएको गुनासो गरेका छन् ।