पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको सेमिफाइनलको सम्भावना कायमै

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । 

समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ ।

समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्नेछ भने पाकिस्तानले भुटानसँग खेल्नेछ । 

दोस्रो चरणको खेल सकिंदा अंक तालिकामा बंगलादेश २ खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान २ खेलमा ३ अंक लिएर बसेको छ । 

नेपालले पनि २ खेलमा ३ अंक नै जोडेको भएपनि हेड टु हेड नियमका आधारमा नेपाल तेस्रो स्थानमा रहेको हो । पाकिस्तानको तुलनामा नेपालको गोल अन्तर धेरै भएपनि हेड टु हेड नियममा समान अंक बोकेका दुई टोलीको नतिजालाई प्राथमिकतामा राखिने प्रावधान छ । 

समूहको पुछारमा रहेको भुटानले २ खेलमा कुनै अंक जोडेको छैन । यसका बाबजुद पनि भुटानको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न पहिलो विकल्प बंगलादेश विरुद्ध स्पष्ट जित हासिल गर्नु हो । 

नेपालले शनिबार कुनै स्कोरले जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा नेपाल समूह विजेता वा उपविजेता बन्ने टुङ्गो लाग्न पाकिस्तान र भुटानको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । 

शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान भिड्ने भएकाले पनि नेपाललाई बंगलादेशविरुद्ध कस्तो नतिजा आवश्यक पर्छ, त्यो फाइदाजनक हुन सक्छ । 

यदि भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।