पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएनएको मध्यपूर्व भेला शुरु

काठमाडौँ । रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । 

भेलामा रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा गहन छलफल हुने एनआरएनएका प्रवक्ता भुषण घिमिरेले बताउनुभयो । 

भेलाले विदेशस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति प्रदान गर्ने, श्रम सीप बैंकको स्थापना, वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि सञ्चय कोषको व्यवस्थाका लागि रोजगारदाता मुलुकसँग पहल गर्न सरकारको ध्यानाकर्षण गराउने बताइएको छ । 

भेलामा नेपालको तर्फबाट खानेपानी मन्त्री बीना मगर, पूर्व श्रममन्त्री रमेश लेखक, श्रम र अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबिया र ओमानको राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको सहभागिता रहेको छ ।