पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिम्स्टेक वरिष्ठ पदाधिकारीको विशेष बैठक भोलि बस्दै

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक भोलि शनिबार काठमाडौँमा बस्दैछ । 

आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय बैठक भोलि बिहान ९ बजेदेखि शुरु हुनेछ ।

बैठकमा सहभागी हुन बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु आज साँझसम्म नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सचिव आउन नसक्ने अवस्थामा बैठकमा सदस्य राष्ट्रकै अन्य उच्चस्तरीय प्रतिनिधित्व हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो । 

विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारी स्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ । 

सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रर्वद्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा बिमस्टेकको स्थापना भएको हो । 

बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र छन् ।