पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बङ्गलादेशी ऊर्जा राज्यमन्त्री राजधानीमा 

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, विद्युत आदान प्रदान र द्विपक्षीय सहयोग सम्वन्धमा नेपाल र बङ्गलादेशका उच्च अधिकारीबीच छलफल र समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउनु भएका बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग शुक्रवार द्विपक्षीय भेटवार्ताका साथै केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

दुवै देशमा संयुक्त लगानी गर्ने, बङ्गलादेशले नेपालको विद्युत् खरीद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायतका विषय समझदारीपत्रमा समेटिने सहसचिव घिमिरेले बताउनुभयो ।

नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफल हुने कार्यक्रम तय भएको छ । 

बङ्गलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । 

भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्समेत बंगलादेशलाई बिक्री गर्ने तयारी भएको यसअघि नै सार्वजनिक भएको थियो ।