पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसीसी छनोटका लागि १९ सदस्यीय टिम घोषणा

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । 

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय टिम घोषणा गरेको हो । 

नेदरल्यान्ड्स विरुद्धको एक दिवसीय सिरिजमा टिममा नरहेका सुनील धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो टिममा परेका छन् । दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर बाहिरिएका छन् । 

नेपाली टिमको बन्द प्रशिक्षण साउन २९ बाट सुरु हुनेछ । क्याम्पबाट एसिया कप छनोट खेल्ने १५ सदस्यीय टिम घोषणा गरिनेछ । 

मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । 

छनोट प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमान गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । 

नेपाल र युइई एक दिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसैले नेपाल र युएईबीचको खेल एक दिवसीय हुनेछ । ६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ ।  

एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ । मलेसियामा हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ । 

एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन् । समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।