पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ब्रोडगेज रेल परीक्षण सञ्चालनमा 

अजय कुमार झा, जनकपुरधाम । जनकपुर–जयनगर–बर्दिवास ब्रोडगेज रेल सेवाको परीक्षण सञ्चालन आजवाट शुरु भएको छ । 

भारत सरकारको करिब १० अर्बको सहयोगमा निर्माण भएको रेल पहिलो चरण अन्तर्गत भारतको जयनगर देखि नेपालको खजुरी स्टेशनसम्म साँढे आठ किलोमिटरमा ईन्जिन तथा ५२ वटा डब्बा ल्याएर परीक्षण सञ्चालन भएको नेपाल रेल विभागका साईट कार्यालय जनकपुरका प्रमुख ईन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।

भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटरमा रेल सञ्चालन गर्ने गरी कामकाज निक्कै अगाडी बढेको छ । 

पहिलो खण्डमा जयनगरदेखि कुर्थासम्म अक्टोवरसम्ममा पूर्ण रुपमा रेल सेवा सञ्चालन गर्ने भएकाले अधिकांश कामहरु अन्तिम चरणमा पुगेको ईन्जिनियर ओझाले जानकारी दिनु भयो । 

महोत्तरीको भङ्गहा देखि बर्दिवास खण्डमा जग्गा अधिग्रहणको काम भइरहेको छ ।

रेल निर्माणको ठेक्का लिएका भारतका ईर्कान कम्पनीले आज रेल सेवाको परीक्षण सञ्चालन गरेको छ । 

भारतीय रेलको ब्रोडगेजको सञ्चालनसँगै नेपाली क्षेत्र भारतीय रेल सञ्जालसँग जोडिएको छ ।