पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्तरोन्नति गर्न सहयोगको आवश्यकताः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न नेपाललाई विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । 

विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराउनुभयो ।

विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा. खतिवडाले विश्व बैँकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भ्रमणको क्रममा अर्थमन्त्री खतिवडासँग विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफर र विश्व बैंकका कार्यबाहक प्रमुख अर्थशास्त्री सान्ता देवराजनले पनि भेटघाट तथा छलफल र भेटवार्ता गर्नुभएको छ । 

भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करिब ३६ हजार जनप्रतिनिधि मार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभएको थियो । 

विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले  विश्व बैंक समूह एकीकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिनुभयो । 

३ दिनसम्म चल्ने नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधि मण्डलको सहभागिता रहेको छ ।