पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ब्याटिङ प्रशिक्षणका लागि भारतीय प्रशिक्षक देसाई आउने पक्का

काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने पक्का भएको छ ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले जानकारी दिनुभयो । 

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ । 

भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् ।

४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षकको रुपमा काम गरिरहनु भएको छ । देसाईले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म १ वर्ष फस्ट क्लास क्रिकेट खेल्नु भएको थियो । 

यसअघि पनि नेपाली टिमको ब्याटिङ प्रशिक्षणका लागि भारतबाट नै प्रशिक्षक बोलाइने गरिएको थियो । यसअघि भारतीय प्रशिक्षकहरु मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले नेपाली टिमलाई ब्याटिङ सिकाइसकेका थिए ।