पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्यटनका लागि पुर्वाधार विकासमा जोड

काठमाडौं । नेपालमा पर्यटन क्षेत्र विकासका लागि पुुर्वाधार विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनु भएको छ ।

अबको दुुई वर्षमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउन सरोकारवालाको भुमिका विषयमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री, पर्यटन व्यवसायी तथा पत्रकारहरुले पर्यटकलाई नेपाल बसाई लम्बाउन, सुरक्षा, सहज यातायात, पर्यटकीय स्थलको सफाई, तथा प्रयाप्त बस्ने ठाउंको व्यवस्थामा सरकार र व्यवसायीले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ३ का योजना मन्त्री केशव स्थापितले प्रदेश ३ मा पर्यटन क्षेत्रको विकासका लागि ठाउं छनौट गरी बजेट सहित विकासका योजना अघि बढाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले अस्तव्यस्त सडक र ट्राफिक जामले उपत्यकामा विदेशी पर्यटकलाई घुमाउन र लामो समय टिकाउन गाह्रो भएको बताउनुभयो ।

पर्यटनविद योगेन्द्र शाक्यले शान्ति कायम गरी लगानीमैत्री वातावरण बनाएमा नेपाल विदेशी पर्यटकका लागि स्वर्ग रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, प्रेस काउन्सिल नेपालका सदस्य शुुभेच्छाविन्दु तुलाधर लगायत पत्रकार तथा सरोकारवालाहरुले सबै जातजाति तथा भाषाभाषीको कला संस्कृतिको संरक्षण, प्राचीन सम्पदाको संरक्षण, सहज यातायात,  तथा पर्यटकीय स्थलकावारेमा सकारात्मक सन्देश दिने कार्यक्रम विश्वव्यापी प्रचारमा ल्याई पर्यटन विकास गर्न सरकारलाई सुुझाव दिनुभयो ।

वार्षिक ५ लाख विदेशी पर्यटक नेपाल आउने गरेकोमा सरकारले सन २०२० सम्ममा २० लाख र सन २०२५ सम्ममा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।