पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढी–पहिरोबाट जनजीवन प्रभावित, भक्तपुरमा ३ जनाको मृत्यु

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण जनजिवन प्रभावित भएको छ । 

लगातारको वर्षातपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साँढे दुई वर्षीया सम्पदा लामा रहेका छन् । अविरल वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा पनि एक घर भत्किएको छ । 

भक्तपुरस्थित हनुमन्ते खोलामा आएको बाढीले सिद्धीस्मृति बाल अस्पताल, हनुमानघाटस्थित परोपकार केन्द्र, राममन्दिर, सल्लाघारीस्थित डा युवामुरा अस्पताल, मध्यपुरथिमि अस्पताल समेत जलमग्न भएका छन् । 

वर्षाका कारण आएको बाढीले डुबानमा परेका १ सय भन्दा बढीको उद्धार गरिएको र उद्धारमा थप कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । 

अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ । 

बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो । 
 
उता बाढीका कारण अवरुद्ध अरनिको र वीपी राजमार्ग सञ्चालन भएको छ । 

हिजो बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । 

यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी, हेटौंडा काठमाडौं छोटो मार्ग मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

आज बिहान पहिरो गएका कारण अवरुद्व भएको खडकखण्ड मध्यान्ह १२ बजेबाट दुवै तर्फ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।