पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैकले आगामी आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

काठमाडौंमा आज मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैकका गभर्नर डा. चीरञ्जीवि नेपालले मौद्रिक नीतिको कार्यान्वयनबाट समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व हासिल गर्न, वित्तीय पहुँच अभिवृद्धि गर्न र लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।

गभर्नर डाक्टर नेपालले पूर्वाधारका परियोजनामा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी ‘हेजिङ’ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने र यस्तो सुविधाबाट ठूला जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास लिइएको जानकारी दिनुभयो ।

उहाँले महिलाद्वारा सञ्चालन हुने परियोजनाका लागि १५ लाखसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने र महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको जानकारी दिनुभयो ।

गभर्नर डाक्टर नेपालले वाणिज्य बैंकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्र स्थायित्वलाई थप सुदृढीकरण गर्न र वाणिज्य बैंकबीच गाभ्ने–गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने उल्लेख गर्नुभयो । 

नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार उपभोक्ता मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतको सीमाभित्र राख्ने मौद्रिक नीतिको लक्ष रहेको छ ।