पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुरुष फुटबलमा नेपाल समूह ‘डी’मा

काठमाडौं । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘डी’मा परेको छ ।

यस समूहमा नेपालसँगै एसियाली पावर हाउस जापान, भियतनाम र पाकिस्तान छन् । एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनिका खेलाडीहरु खेल्न पाउँछन् । प्रत्येक टोलीमा बढीमा ३ खेलाडी बढी उमेरका राख्न पाइन्छ । 

अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म सञ्चालन हुने पुरुष फुटबलको समूह ए मा आयोजक इण्डोनेसिया, हङकङ, लाओस र चाइनिज ताइपेई छन् । समूह बीमा थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश र कतार छन् । 

त्यस्तै समूह सीमा इराक, चीन, पूर्वी टिमोर र सिरिया छन् । समूह ईमा दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया र बहराइन छन् । र, समूह एफमा उत्तर कोरिया, साउदी अरब, इरान र म्यानमार छन् । 

६ समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्ने छन् । त्यस्तै समूहमा तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउने छन् । 

एसियाली खेलकुदको महिलातर्फको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सहभागी ११ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । महिला फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन । 

समूह ए मा आयोजक इण्डोनेसिया, दक्षिण कोरिया, ताइपेई र माल्दिभ्स छन् । त्यस्तै समूह बीमा उत्तर कोरिया, चीन, हङकङ र ताजिकिस्तान र समूह सीमा जापान, भियातनाम र थाइल्याण्ड छन् । 

समूह ए र बीका शीर्ष ३ तथा समूह सीका शीर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । महिला फुटबल प्रतियोगिता अगष्ट १६ देखि ३१ सम्म सञ्चालन हुनेछ ।