पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्वकप फुुटबलः क्वाटरफाइनल खेल भोलि शुरु हुने

काठमाडौं । विश्वकप फूटबल प्रतियोगिता अन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुरु हुने भएको छ । 

रसियामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । 

जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्व विजेता समेत हुन् । 

क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा ५ पटकको विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । 

असार २३ गते शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुने छन् । 

उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।