पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्वकप फुटबलः क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको हो ।

क्वार्टरफाइनलमा दुई महादेशका मात्र टिम पुगेका छन् । युरोपका ६ टिम अन्तिम ८ मा पुग्दा दक्षिण अमेरिकाका उरुग्वे र ब्राजिल २ टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । 

क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन् । क्वार्टरफाइनलमा पुगेका आयोजक रसियासहित क्रोएसिया, स्विडेन र बेल्जियमले अहिलसम्म उपाधि जित्न सकेका छैनन् । ब्राजिल, फ्रान्स, उरुग्वे र इंग्ल्यान्ड भने पूर्व च्याम्पियन हुन् ।

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे, आयोजक रुसले क्रोएसिया, ब्राजिलले बेल्जियम र इंग्ल्याण्डले स्वीडेनसँग खेल्नेछन् । क्वार्टरफाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुनेछ । 

शुक्रबार पौने ८ बजे हुने पहिलो क्वार्टरफाइनल उरुग्वे र फ्रान्स भिड्ने छन् भने त्यही दिन राति पौने १२ बजे हुने दोस्रो खेलमा ब्राजिल र बेल्जियम आमने सामने हुनेछन् । 

त्यस्तै शनिबार पनि दुई क्वार्टरफाइनल हुनेछ । शनिबार साँझ पौने ८ बजे स्वीडेन र इंग्ल्याण्ड तथा पौने १२ बजे आयोजक रुस र क्रोएसिया आमने सामने हुने छन् ।

समूह चरणमा जर्मनीको बहिर्गमनसँगै सुरु भएको अप्रत्यासित नतिजाको क्रम नकआउट चरणमा पनि रोकिएन । उपाधि दाबेदार टोलीहरु स्पेन, पोर्चुगल र अर्जेन्टिनाले यस विश्वकपमा अन्तिम १६ बाट माथि जान सकेनन् ।

फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी रहेका छन् ।. ह्यारी केन (इंग्ल्यान्ड), एडेन हाजार्ड (बेल्जियम) र नेयमार (ब्राजिल) छन् ।

इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन अहिलेसम्म प्रतियोगिताका उत्कृष्ट खेलाडी रहेका छन् । गए मंगलबार राती कोलम्बिया विरुद्ध गोलसंगै उनले प्रतियोगितामा छैठौं गोल दर्ता गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी हो । उनले ३ खेलमा ९ प्रहार पोस्टमा गरेका छन् भने २ गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

हुस्कोर्डका अनुसार बेल्जियम तथा चेल्सीका फरवार्ड हाजार्ड तथ्यांकका आधारमा दोस्रो उत्कृष्ट खेलाडी रहेका छन् । उनले आफूले खेलेका ३ खेलमा २ गोल र २ असिस्ट गरेका छन् । उनले औसतमा ४ प्रहार गरेका छन् ११ गोल गर्ने अवसरहरु सिर्जना गरेका पनि छन् ।

ब्राजिलका फरवार्ड नेयमारले आफूले खेलेका ४ खेलमा २ गोल तथा १ असिस्ट गरेका छन् । उनले एक खेलमा औसतमा ६ प्रहार पोस्टमा गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी पनि हो । त्यस्तै उनले १६ वटा गोल गर्ने अवसरहरु पनि सिर्जना गरेका छन् ।