पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल शुरु

काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकहरु माथिको मन्त्रालयगत छलफल आजबाट शुरु भएको छ । 

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरु माथि छलफल शुरु भयो । 

छलफलको शुरुमै खर्च कटौतीको प्रस्ताव राख्दै सांसदहरु अतहर कमाल मुसलमान, भरतकुमार शाह, प्रकाश रसाइली, पार्वती डिसी(चौधरी), दुर्गा पौडेल र प्रेम सुवालले समृद्धिको बाटो तर्फ बजेट केन्द्रीत नरहेकोे, कृषि उत्पादन बढाउने आधार तयार गर्न नसकेको, भुमिमाथि कृषकको अधिकार सुनिश्चित नगरिएको, कानुन मन्त्रालयमा न्यायालयलाई प्रभाव पार्न सक्ने गरी बजेट विनियोजन गरिएको जस्ता आरोप लगाउनुभयोे । 

उहाँहरुले सञ्चार मन्त्रालयले रकम अनुदान दिन सक्ने व्यवस्थालाई स्पष्ट नगरी रकम विनियोजन गरिएको, स्वच्छ खानेपानी सबै जनतासम्म पुर्याउन कुनै योजना सहित बजेट आउन नसकेको र धेरैजसो रकम केन्द्रमा मात्रै केन्द्रीत गरेका बताउनुभयो ।   

छलफलमा सत्तापक्षीय दलका सांसदहरुले भने खर्च कटौती गर्ने भन्दा पनि बजेट बढोत्तरी गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने, कृषि विकासका लागि कृषकसँग जोडिएका विषयलाई प्राथमिकता दिने, आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सहकारी मन्त्रालयले कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँहरुले देशका सवै स्थानमा टेलिफोन, इन्टरनेट र सार्वजनिक सूचनाका माध्यम पुर्याउन जोड दिनुपर्ने भन्दै सबै क्षेत्रमा आवश्यकता र लागतका आधारमा खानेपानी पुर्याउने व्यवस्था गर्नुपर्ने र छुट्टयाइएको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

छलफलमा सांसदहरुले भुमिहिन कृषकलाई भूमि तथा आवासको व्यवस्थालाई बजेटले समेट्नुपर्ने, सातै प्रदेशमा कृषि संकलन केन्द्र स्थापना गर्नेे, कृषि विमा कार्यक्रम अझै प्रभावकारी बनाइनु पर्ने, हरेक गाउँपालिका र कार्यालयहरुमा सूचना प्रविधि मैत्री वातावरण बनाउने र वाइफाई फ्रि क्षेत्र बनाउने विषयमा जोड दिइनुपर्ने बताउनु भयो ।

सांसदहरुले देशको सवै भूभाग र जनतामा सञ्चार पुग्न नसकेको, सबै जनताले स्वच्छ पानी पाउने अवस्था नरहेको, कृषि उत्पादन बढाउने ठोस योजना नभएको, सिंचाईमा विशेष ध्यान नपुगेको र प्रभावकारी न्याय प्रणालीमा बजेटले ध्यान दिन नसकेकाले त्यसतर्फ जोड दिनुपर्ने बताउनु भयो ।