पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जमिनको वर्गीकरण योजना लागू गरिने

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गीकरण योजना लागू गरिने बताउनुभएको छ । 

नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि उपभोक्ता महासंघले मंगलबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री खनालले खेतीयोग्य, व्यावसायिक र आवास गरी ३ भागमा जग्गाको वर्गीकरण गरी लालपूर्जा वितरण गरिने बताउनुभयो । 

‘साना किसान र आर्थिक वर्ष २०७५–७६ को’ बजेट विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले सरकारले निर्दिष्ट गरेको खेतीयोग्य जमिन खण्डीकरण हुन नदिन र बाँझो राख्न नपाइने गरी कानून समेत बनाइने बताउनुभयो । 

राष्ट्रिय कृषि उपभोक्ता महासंघका अध्यक्ष उद्धव अधिकारीले कृषिको व्यवसायीकरण र आधुनिकताका नाममा स्थानीय जातका बीउबिजन मासिने क्रम शुरु भएको र न्यून लगानीमा खेती गर्दै आएका साना किसानको अधिकार प्रति सरकार सचेत नरहेको आरोप लगाउनुभयो ।