पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फिफा वरियतामा नेपाल ३ स्थान माथि उक्लियो

काठमाडौं । फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाका लागि जारी गरेको वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये माल्दिभ्स (फिफा वरियता १ सय ५० औं ) दोस्रो स्थानमा छ । 

साफ च्याम्पियनसिप खेल्ने मध्ये नेपाल तेस्रो, भुटान (१८३) चौथो, बंगलादेश (१९४) पाँचौं , श्रीलंका (२००) छैटौं र पाकिस्तान (२०१) सातौं स्थानमा छ ।

साफ च्याम्पियनसिपबाट अलग्गिएको अफगानिस्तान फिफा वरियताको १ सय ४५ औं स्थानमा छ । फिफा वरियताको शीर्ष सात भित्र कुनै परिवर्तन भएको छैन ।

जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जेन्टिना पाँचौं स्थानमा छ । त्यस्तै स्विट्जरल्यान्ड छैटौं र फ्रान्स सातौं स्थानमा छन् । दुई स्थान उक्लेको पोल्यान्ड आठौं, चिली नवौं र दुई स्थान झरेको स्पेन दसौं स्थानमा छ ।