पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनकोशी किनार क्षेत्रमा सखरखण्ड लोकप्रिय हुँदै

सिन्धुली । सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड खेती लोकप्रिय हुँदै गएको छ ।

‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर त्यस क्षेत्रका किसानले नगदे बालीका रूपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताउनुभयो । 

पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रूपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रूपमा सखरखण्ड खेती शुरु गरेका छन् । 

अरू बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताउनुहुन्छ । 

नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्माले जानकारी दिनु भयो । उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रूपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।

मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रूपमा व्यावसायिक खेती गर्दै आएका छन् । 

लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ । त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँ लगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो ३० देखि  २०० सम्ममा बिक्री हुने गरेको छ ।