पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देश विद्युत्भार कटौतीमुक्त घोषित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्र समेत सोमबारबाट विद्युत्भार कटौतीमुक्त घोषणा गरको छ । विद्युत्भार कटौतीमुक्त घोषणाले देशका उद्योगी व्यवसायीमा खुशी छाएको छ । 

उद्योगी व्यवसायीहरुले आगामी दिनमा औद्योगिक उत्पादन बढ्ने र रोजगारीको अवसर बढेर उत्पादकत्वमा समेत वृद्धि हुने आर्थिक सम्वृद्धिको अभियानमा सहयोग हुने भन्दै सन्तोष प्रकट गर्नु भएको छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विद्युत्भार कटौतीमुक्त कदमको स्वागत गर्दै आगामी बजेटले मुलुकमा औद्योगिक विकास र नीतिगत सुधारको युुग प्रारुम्भ गर्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको र मुलुकमा अब औद्योगिक वातावरण र आर्थिक विकासको युग प्रारम्भ हुने आशा प्रकट गर्नु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती नहुने व्यवस्था लागू हुनुले आफैमा महत्वूर्ण सन्देश प्रवाह भएको बताउनुभयो । 

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । 

बैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघले खुशी समेत व्यक्त गरेको छ ।