पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोदीको भ्रमणबाट पर्यटन व्यावसायी उत्साहित

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ तथा जनकपुर क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको आफ्नै विशिष्ट र अलौकिक पहिचान छ । भगवान् शिवको प्रतीकका रुपमा रहेको शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विशेष श्रद्धासमेत गर्ने भएकाले पनि मुक्तिनाथ क्षेत्रको फरक पहिचान नेपालको पर्यटन क्षेत्रमा रहँदै आएको छ । 

भारतमा पनि मुक्तिनाथलाई तिर्थहरुको शिरको रुपमा मानिने हुनाले भारतीय प्रधानमन्त्रीको यो भ्रमणले भारतीय पर्यटकलाई मुक्तिनाथ भ्रमणमा जान थप प्रेरित गर्ने अपेक्षा पर्यटन व्यवसायिहरुले गरेका छन । 

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा गरेको पूजाआजा तथा त्यसको प्रत्यक्ष प्रचारले नेपालको पर्यटन क्षेत्रको उन्नयनमा थप योगदान पुगेको व्यवसायीको भनाइ छ । 

टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहाल भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । 

यस्तै टान पोखरा च्याप्टरका अध्यक्ष दीपकराज अधिकारी विश्वमा नेपालको परिचय र पर्यटन प्रवद्र्धनमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण उपयोगी बनेको बताउनु भयो ।

नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको अन्नपूर्ण क्षेत्र, थोरोलङा भञ्ज्याङ, निलगिरि हिमाल र मुस्ताङको प्राकृतिक सुन्दरता तथा त्यस क्षेत्रको जनजीवन पनि पर्यटन प्रवद्र्धनको खास आधारका रुपमा रहेको छ । 

धार्मिक र प्राकृतिक रुपमा रहेको छुट्टाछुट्टै विशेषताले पनि यो क्षेत्र पर्यटनको प्रमुख आधार भएको व्यवसायीको भनाइ छ । 

छिमेकी मुलुकका कार्यकारी प्रमुखले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर नेपालको प्रमुख पर्यटकीय क्षेत्रको निःशुल्क प्रचार मात्रै गरिदिएका छैनन्, एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतीय नागरिकलाई सो क्षेत्रको भ्रमणका लागिसमेत प्रेरित गरिदिएका छन् । 

नेपालका बारेमा थाहा नपाएका र नेपाल आउन चाहनेलाई समेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रेरणा दिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।